मिडिया प्रभाबको  सैद्धान्तिक परिदृश्य

| २०७९ असार ३२ गतेमा प्रकाशित

डा.श्रीराम खनाल/ ‘तपाई जति बढि टेलिभिजन हेर्नहुन्छ, त्यति नै आफूमा कम ज्ञान अन्र्तनिहित भएको पाउनुहुन्छ । तपाईको व्याख्या, विश्लेषण सञ्चार माध्यममा आधारित हुने छन् । त्यो नै उल्लेख्य प्रभाब हो’, अमेरिकी सञ्चारबिद् सिजेष्टर भन्छन् ।  आमसञ्चार माध्यमले दैनिक जीवनमा बिचार निर्माण गर्न र दृष्टिकोण बनाउन ठूलो सहयोग गरेको हुन्छ ।

आमसञ्चारमाध्यमबाट सम्प्रेषित  सन्देशले सोझो र अल्पकालीन प्रभाब पारेको हुन्छ भन्ने एकाथरी सञ्चारबिद्हरु छन भने अर्काथरी सञ्चारविद्हरु मिडियाको प्रभाव अप्रत्यक्ष तर दीर्घकालीन प्रभाब पारेको हुन्छ भन्ने मत राख्छन् ।  तर कुन अनुपातमा र कसरी प्रभाब पार्दछ भन्ने सम्बन्धमा अझसम्म पनि प्रभावकारी र प्रणालीबद्ध अनुसन्धान हुन सकेको छैन । फेसनको नक्कल गर्नु अल्पकालीन प्रभाब हो । यसैगरी धारणा र बिचारमा परिर्बतन आउनु दीर्घकालीन प्रभाब हो । पछिल्लो समय यता विश्वमा  खासगरी अल्पविकसित देशहरुका नागरिकहरुमा  मिडियाले  सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव वढि पारेको यस क्षेत्रका सञ्चारविज्ञहरुको ठम्याई छ ।  यो लेख मिडियाले मानिसहरुमा कस्तो प्रभाब पारेको हुन्छ कुरामा आधारभूमिमा केन्द्रित छ ।


प्रसिद्ध बेलायती सञ्चारबिद् डेनिस मक्वाइल आमसञ्चार माध्यमले सोझै,सर्तात्मक,एकत्रित र मानसिक रुपान्तरणीय प्रभाब पार्दछ भनी सञ्चार माध्यमका चारवटा प्रभावहरु प्रस्तुत गर्दछन् । मिडिया प्रभावसम्वन्धी विभिन्न सिद्धान्तहरुमध्ये बुलेट सिद्धान्तका अनुसार मिडियाबाट सम्प्रेषित सन्देश बन्दुकको नालबाट चलेको गोली झै तीब्रप्रभावी हुन्छ भन्ने मान्यता राख्दछ । यस सिद्धान्त मिडियाले छिटो,प्रत्यक्ष र तीब्र प्रभाव पार्दछ अभिमत राख्दछ । यस अवधारणाले मिडियाशक्तिशाली हुनु भएकाले यसका अन्तवस्र्तु चाहि सोही अनुरुपको हुनु पनि मत राख्दछ ।   बिभिन्न सामाजिक परिबेशका कारण हुने प्रभाबलाई सर्तात्मक प्रभाब भनिन्छ ।

बिस्तारै अन्तरआत्मा देखि नै अवलम्बन गर्ने र पछि सम्म प्रभाब पार्नुलाई एकत्रित प्रभाब भनिन्छ । बिशेष योजना वा ढाँचा अनुसार हुने प्रभाब नै मानसिक रुपान्तरणीय प्रभाब हो । उनका अनुसार मिडियाले मानिसको बिचार,धारणामा मात्र परिबर्तन ल्याउदैन त्यसबाट उनीहरुको व्यबहारमा समेत  परिबर्तन ल्याउँछ । मानिसहरुले मिडियामा देखेका,सुनेका  अनुभूत एवं अवलोकन गरेका  कुराहरु नयाँ ज्ञान,सीप,प्रबिधि व्यबहारिक जीबनमा प्रयोगमा ल्याउँछन् । तर यसलाई सत्य मान्न सकिन्छ तर उनी व्यक्तिको उमेरसमुह,उसमा सन्निहित ज्ञान र शिक्षाको तहले पनि असर पार्ने बताउँछन् । अहिले समाजमा सञ्चार माध्यम मात्र नभई अभियन्ता,सामाजिक तत्वहरुको प्रभाव हुने भएकाले मिडियाले धेरै भन्दा पनि ठीकै प्रभाव पार्दछ (जसलाई मोडरेट थिअरी पनि भनिन्छ) भन्ने अवधारणाले पनि ठाँउ पाउन थालेको छ । तर सञ्चार माध्यम शक्ति बढिरहेका सन्दर्भमा मिडियाबाट पर्न जाने असर र प्रभाव समाजमा निक्कै हुन्छ । परनिर्भरता अर्था डिपेन्डेन्ट थिअरीका अनुसार समाजमा सञ्चार माध्यम प्रतिको भरोसा भइरहने र केही हदसम्म अन्य तत्वहले प्रभावित तुल्याउने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन् । 


सञ्चारविद्हरुका अनुसार मिडियाबाटै मानिसले सामाजिक,मूल्यमान्यता,परिबेश,संस्कृति बुझ्ने अबसर प्राप्त गर्छ । उनीहरुका अनुसार  सामाजिकीकरण मिडियाको गम्भीर र महत्वपूर्ण काम हो । मिडियाले मानिसलाई सामाजिक बनाउन मद्धत त गर्छ नै  । तर त्यो कुन हदमा कति सम्म । के आधुनिकताको नाममा मानिसले अश्लीलतालाई पश्रय दिने र संस्कृति बिरोधी  त  बनाएको छैन यो  निकै संबेदनशील बिषय  हो र कत्तिको समाजमैत्री छ भन्ने सवाल चाहि प्रबल हुन्छ । सञ्चारबिद्हरुका मतमा समाज नै संस्कृति हो संस्कृति नै सञ्चार हो । त्यसलै मिडिया र समाज,समाज र संस्कृति एक अर्कामा निकट सम्बन्ध राख्छन् ।

सामाजिक सांस्कृतिक परिबर्तनका अतिरिक्त मिडिया मनोरञ्जन पनि त प्रदान गर्ने माध्यमका रुपमा लिएर हेर्दा मानिसहरुको मिडियाप्रतिको भरोसा कुन हदसम्म रहेछ भन्ने स्पष्ट हुन्छ । मिडिया परनिर्भरता सिद्धान्तलाई आधार मान्ने हो भने मानिसका हरेक कियाकलापहरु मिडियाद्वारा नै निर्देशित हुन्छन् । आजका व्यस्त मानिसहरु बिज्ञापन हेरेर बस्तु खरीद  र सेवा उपभोग गर्दछन् । यो  यर्थाथ पनि हो । आजका मानिसहरुलाई समयको अभाब पनि छ ।  भौतिकबादी यस युगका मानिसहरु व्यस्त दैनिक जीबनमा बजार–बजार डुलेर कुन बस्तु कहाँ सस्तो र महगो छ तौलन भ्याउदैनन् । तर गुण नभएका र स्तरहीन बस्तुलाई स्तरीय पनि बिज्ञापन गर्नुलाई यसले ठूलो सामाजिक अपराध मान्दछ । 


मिडियाका सकारात्मक पाटाहरुलाई मात्र केलाएर हुदैन । मिडियाले मानिसलाई नराम्रा आचरण सिकाउने, सुबिधाभोगी,धेरै आधुनिक पनि त बनाएको छ । बिध्वंसात्मक,आपराधिक गतिबिधि,बढ्न बढाउन र नागरिकहरुलाई अनुशासनहीन बनाउन पनि मिडियाकै हात  छ । निश्चित समयाबधिमा एउटा ब्यक्तिमा पार्ने प्रभाबलाई अध्ययन गरेर हेर्ने हो भने सञ्चारबिद्हरुले भने अनुसार कुनै न कुनै प्रभाब पर्दछ । जस्तै नेपाली गृहिणीहरुको हिन्दी टेलिश्रृंखलाप्रतिको मोह, युवायुवतीमा पश्चिमी सहनसहन र संस्कृतिको प्रभाव,वलात्कार र हिशात्मक गतिविधिको बढावा, युवाहरुमा दुव्र्यसन नै यसको उदारहण  हो । वास्तवमा मिडिया  संस्कृति, औपचारिकता, शैली, बोलीचाली र आचार सिक्ने माध्यम मिडिया हुन । मिडियाका नकारात्मक पक्ष हुदाहुदै पनि सूचना,सन्देश,बिचारहरुलाई व्यापक रुपमा प्रबाहित गर्ने यो माध्यमले सामाजिक जिम्मेबारी ख्याल गरेर मात्र सन्देश सम्प्रेषण गर्नुपर्दछ । 


नेपालमा मिडियाले समाजमा पार्ने प्रभाब सम्बन्धमा निकै कम अध्ययन अनुसन्धान भएका छन् । न त सरकारी नत गैरसरकारी पहलबाटै यस्ता अध्ययन भएका छन् । दर्शक,पाठकहरु र स्रोताहरुमा मिडियाले पार्ने प्रभाब मापन गर्नु निकै जटिल कुरा हो । अनुसन्धानकर्ताले समाजशास्त्र,मनोविज्ञान र संस्कृति  सम्बन्धमा राम्रो जानकारी लिनु अति नै आबश्यक छ । यो बिषय निकै जटिल भएकाले पनि र यस क्षेत्रमा ज्ञानको कमीका कारण नेपालका आमसञ्चार तथा पत्रकारिताका पाठ्यक्रममा एक पाठ र एकाई रुपमा आमसञ्चार सिद्धान्तअन्तर्गत् मिडियाका प्रभाबबारे अध्ययन अध्यापन हुने गरेको छ । त्यसैले यसलाई बिस्तृत अध्यापन गर्ने व्यबस्था मिलाउनु आबश्यक छ किनकी मिडियाका अन्तवस्र्तुले प्रापकमा पार्ने  प्रभावका विषयमा मिडिया अभ्यासमा निकै महत्वपूर्ण  हुन्छ । बिदेशी सञ्चारमाध्यमले नेपाली समाजमा कस्तो सकारात्मक र नकारात्मक प्रभाब पारेको छ त्यसैले बिदेशी मिडियाले नेपाली भाषा र संस्कृतिमा गरेको अतिक्रमणका बारेमा अध्ययन गर्न निकै ढिला भैसकेको छ । पढ्ने समयमा  हाम्रा स्कुल पढ्ने छोराछोरीहरु इन्टरनेट खासगरी मोबाइल र कम्प्युटरमा कामुक बाहियात नग्न कामुक चित्रहरु अबलोकन गरेर आफूलाई बर्वात गरिरहेकोप्रति अभिभाबकले सोच्ने बेला आइसकेको छ ।  


मिडियाले समाजमा पार्ने प्रभाबसम्बन्धमा जानकारी लिएर सन्देश सम्प्रेषण गर्ने हो भने सूचना सम्प्रेषण एउटा गम्भीर र संबेदनशील कार्य हो भन्ने प्रतित हुन्छ । मिडिया अनुसन्धान बामेसर्दै गरेको नेपालमा प्रापकको धारणा, बिचार,सामाजिक परिर्बतन,नियन्त्रण मापन गर्न  अनुसन्धानकर्ता बिशेष रुपमा सर्तक,गम्भीर र दुरदर्शी हुनु पनि त्यतिकै आवश्यक छ । 


अहिले सोसलमिडिया,न्यु मिडिया (इन्टरनेट) को प्रयोगले विश्वलाई आतंकित बनाएको छ । यद्यपी तिनीहरुका सकारात्मक पाटाहरु हुदाहुदै पनि तिनीहरुको प्रयोगकर्ताको मनोबिज्ञानमा पारको नकारात्मक प्रभाव, अपराध गर्न उद्यत गर्ने, दुव्र्यसन बढाउने, लहडीपन, परनिर्भरता,सिर्जनाशिलताको कमी, समाज अमैत्री क्रियाकलाप,सनसनीपन,यौनजन्य गतिविधिको वढावा, सुनौलो समयको बर्बादी  लगायतका कुराहरुका विद्धत समुदायको हित नजानु र सरोकार पक्षले ध्यान नदिनु दुखपूर्ण पक्षहरु हुन । 


नेपालजस्तो अल्पविकसित र साक्षरता कम भएको मुलुकमा मिडिया साक्षरता बढाउनुपर्ने यसको नकारात्मक असरवाट जोगिने एउटा उपाय हो । साइबर अपराधबाट जोगिन बिशेष कानुनको निर्माण गरी अविलम्ब कार्यान्वयनमा ल्याउन सके मिडियाको नकारात्मक प्रभाववाट धेरैहदसम्म कलिला बालबालिका, युवासमुदायलाई जोगाउन सकिन्छ । यसैगरी इन्टरनेटको खुला पहुँचका कारण एडल्ट भिडियोहरुको अबलोकनवाट हुन बचाउन सके यौनहिंसा र अपराध कम गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट