कांग्रेस प्रवक्ता डा. महत काठमाडौँ ५ बाट चुनाव नलड्ने, नुवाकोटबाटै पाउलान त टिकट ?

नुवाकोट १ बाट उठ्ने तयारी

| २०७९ भदौ २३ गतेमा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर महत आफैँ भने यहाँ चुनाव नलड्ने भएका छन् ।

२०७४ को चुनावमा महत काठमाडौँ ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले विजयी भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत पाएका थिए ।

यो निर्वाचन क्षेत्रमा ३० वैशाखको स्थानीय निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा अहिले पनि एमाले पहिलो छ । उसको १९ हजार २२९ मत छ भने कांग्रेसको १४ हजार ५३२ मत छ । २७३९ मतका साथ राप्रपा तेस्रो, १ हजार ५५३ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार १३९ मतका साथ माओवादी केन्द्र पाँचौं स्थानमा छ । गठबन्धन गर्दा पनि एमाले अगाडि भएका कारण डा. महतले काठमाडौँ ५ मा उठ्ने रुची देखाएका छैनन् ।

त्यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि कांग्रेसले यो क्षेत्रमा अडान लिएको छैन ।

महत निकट एक नेता भन्छन्, ‘नुवाकोट १ बाट उठ्ने उहाँको तयारी छ, काठमाडौं ५ मा उठ्नुहुन्न ।’ महतको नाम गृहक्षेत्र नुवाकोट १ बाट पनि सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट